Sunday, October 27, 2024

प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण

काठमाडौ, साउन २५ (हाकाहाकी)– प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले गएराति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिनुभएको छ ।

उहाँले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

यसैविच, वीरगञ्ज कारागारका कोरोना संक्रमित जेलर श्रवणकुमार पोखरेलको स्वास्थ्य अवस्था बिग्रिएपछि भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । कारागारमै आइसोलेसन स्थापना गरेर चिकित्सकको हेरचाहमा उपचार गराइरहेका पोखरेलको स्वास्थ्यमा समस्या देखिएपछि वीरगञ्ज हेल्थ केयरमा भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि पोखरेललाई भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको हो । तीन दिन अघि पोखरेलले आफूमा कुनै पनि लक्षण नरहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमै संक्रमणको पुष्टि भएको जनाउनु भएको थियो ।

कारागारका कैदी बन्दीमा संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङका आधारमा परीक्षण गर्दा पोखरेलमा पनि संक्रमण पुष्टि भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार