Sunday, October 27, 2024

कोरोनाबाट पोखराका १ को मृत्यु, लक्षण देखिएकी एक महिलाको डडेल्धुरामा मृत्यु

काठमाडौ, साउन २५ (हाकाहाकी)– कोरोना संक्रमणबाट पोखरामा शनिबार राती एक जनाको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरामा पनि एक जना महिलाको मृत्यु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको गएराति साढे ११ बजे पोखरा–१९ लामाचौरका ६२ वर्षीय पुरुषको निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभएको छ । उनको डाइयबिटिजका बिरामी थिए । उनलाई गत १७ साउनमा संक्रमण पुष्टि भएको र आइसीयुमा राखेर उपचार भइरहेको थियो ।

यसैगरी श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेल्धुरा अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको छ । थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

डडेल्धुरा गन्यापधुरा गाउँपालिका–३ घर भएकी ३८ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना गरिएको थियो । डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको बाटोमै मृत्यु भएको हो ।

मृतक महिलाको कोरोना परीक्षणको तयारी भइरहेको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

यसैविच, वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार