Sunday, October 27, 2024

नुवाकोटमा आवागमनमा कडाई

काठमाडौ, साउन २३ (हाकाहाकी)– नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ ।

सङ्कट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको छ ।

यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभएको छ ।

उहाका अनुसार अर्को निर्णय नहुँदासम्म बेलकोटगढी नपा–५ स्थित कोल्पुखोला पुलबाट दुईपिपलतर्फ जाने सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टिन तोकिएका होटलबाहेक अन्य सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्ट बन्द गरिने, धार्मिकस्थलमा सामूहिक भेला हुन नदिने, सामूहिक भएर मनाइने मेला, जात्रा, पर्व तथा समारोह सञ्चालन गर्न नपाउने निर्णय बैठकले गरेको छ ।

बैठकले खेलकूदस्थल, फुटसल, जिमखाना, सैलुन तथा ब्यूटीपार्लर सञ्चालन, विद्यालयमा उपस्थित भई गरिने पठनपाठन, कोचिङ तथा ट्युसन सेन्टर सञ्चालन गर्न रोक लगाई वैकल्पिक सिकाइ विधिको अवलम्बन गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
आजदेखि जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा एक स्थानीय तहको लागि सातामा दुई दिन मात्र उपलब्ध गराउने निर्णय गरिएको छ ।

यसैगरी आवतजावतमा कडाइ गर्ने र अतिआवश्यक कामबाहेकलाई मात्र पूर्वअनुमति लिएर आएकालाई मात्र प्रवेश गर्न दिने केन्द्रले जनाएको छ । कोरेना सङ्क्रमण रोक्न जिल्लाभित्र कडाइ गर्न थालिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार