Sunday, October 27, 2024

काठमाडौंमा सवारी पाससम्बन्धि नयाँ व्यवस्था

काठमाडौ, साउन २३ (हाकाहाकी)– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ ।

कार्यालय परिसरमा मानिसको अत्यधिक भिड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेकाले भिडभाड रोक्न र सामाजिक दुरी कायम गर्न नयाँ व्यवस्था गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
अब अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाण्डौ प्रशासनमा अघिल्लो दिन निवेदन दिएर जाने तथा त्यसको भोलिपल्ट मात्रै पास लिनका लागि आउनुपर्ने हुन्छ ।

निवेदन दिएर त्यही दिन पास लिन कुर्दा मानिसको भिडभाड बढी हुने भएकाले त्यस्तो व्यवस्था गरिएको जनाइएको छ । पाण्डेका अनुसार अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेदेखि पास वितरण गरिने छ ।

त्यसका लागि गेटमै निवेदन दिने र त्यही स्थानबाट पास लिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हिजो मात्रै देशैभर तीन सय ६० जनामा कोरोना देखिएकोमा उपत्यकाका मात्रै ८७ जना छन् ।

ताजा समाचार

सम्बन्धित समाचार