Sunday, October 27, 2024

काठमाडौ उपत्यकामा अत्यावश्यक बाहेकका सेवा २ सातालाई बन्द

काठमाडौ, साउन २३ (हाकाहाकी)– काठमाडौ उपत्यकामा अत्यावश्यक बाहेकका सेवा दुई साताका लागि बन्द गरिने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीनै जिल्लाका सुरक्षा प्रमुख र तीनै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख सहितको बैठकले यस्तो निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गरिने निर्णय गर्दै बैठकले कोरोना भाइरसका संक्रमित भेटिएका स्थानमा सिल गर्न निर्णय पनि गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण देखिएका स्थान र बस्तीमा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सिल गरिने बताउनुभएको छ ।
महाबौद्धमा आजमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए । त्यसैले त्यो क्षेत्र शुक्रबार रातिदेखि अनिश्चितकालका लागि सिल गर्न लागिएको जनाइएको छ ।

शुक्रबारको बैठकले तीनै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र पासपोर्ट वितरण बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । यस्तै बैठकले उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ ।

पछिल्लो समय संक्रमणको जोखिम बढेको स्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नाकाहरूमा समेत थप कडाइ गर्ने निर्णय भएको बताउनुभएको छ ।

अब उपत्यकामा मास्कको प्रयोग नगर्नेप्रति प्रशासन कडा प्रस्तुत हुने भएको छ । अहिले भने सरकारले मास्कको प्रयोग नगर्नेलाई एक सय रुपैयाँ जरिवाना गर्दै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार