Sunday, October 27, 2024

बाह्रबिसे–तातोपानी सडकखण्ड सञ्चालनमा

काठमाडौ, साउन १८ (हाकाहाकी)– अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डमा यातायात सञ्चालन भएको छ ।

अविरल वर्षाले गएको असार २४ गते राति आएको बाढीपहिराले अवरुद्ध सडक व्यवसायी, स्थानीय निकाय, विद्युत् आयोजना तथा सडक डिभिजन कार्यालयको संयुक्त पहलमा मर्मत भएपछि यातायात सञ्चालन भएको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख विजयकुमार महतोले जानकारी दिनुभयो ।

क्षतिग्रस्त सडक खुलाउन सडक विभागले खासै चासो नदेखाएपछि मितेरी पुलदेखि भोटेकोशी गाउँपालिका बुलकोटेसम्म व्यावसायीको पहलमा सडक मर्मत गरिएको नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाले बताउनुभयो ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अन्तर्गत अरनिको राजमार्गको कोठेदेखि तातोपानीको लिपिङसम्मको ३९ किलोमिटर खण्डको दर्जनांै स्थानमा सडक क्षतविक्षत भएको थियो ।

बाह्रबीसेको खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेको पक्की पुल बगाएपछि खागदलमा डाइभर्सन गरिएको छ भने जम्बु र बुलकोटेमा ह्युमपाइप राखी अस्थायी रुपमा सडक सञ्चालन गरिएको छ ।

मनसुन सक्रिय रहेकाले लगातार पानी पर्नेक्रम नरोकिएको हुँदा कटान भएको सडकमा भोटेकोशी नदीमा पानीको सतह घटेपछि मात्र पक्की रुपमा सडक निर्माण गर्न सकिने प्रमुख डिई महतोले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार