Sunday, October 27, 2024

ट्राफिक महाशाखामा सिल, ३७५ मा कोरोना संक्रमण

काठमाडौ, साउन १८ (हाकाहाकी)– महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ ।

गएको शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब संकलनमा दुई ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएपछि महाशाखा सिल गरिएको हो ।

महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महाशाखामा आवतजावतमा रोक लगाइएको जानकारी दिनुभयो ।

उहाँले कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा आएकालाई बाहिर आवतजावतमा समेत बन्द गरिएको जानकारी दिनुभएको छ । यस्तै महाशाखाभित्र बस्ने ३ सय ७५ ट्राफिक प्रहरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ ।

महाशाखामा अहिले एक हजार ५ सय भन्दा बढी ट्राफिक प्रहरी कार्यरत रहे पनि ३ सय ७५ जना क्वारेन्टिनमा रहेकाले बाँकीलाई सवारी चापको अवस्था हेरेर काममा खटाइएको महाशाखा प्रमुख ढकालले बताउनुभयो ।

क्वारेन्टिनमा बसेका प्रहरीको चाँडो स्वाब संकलन गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ । स्वाब संकलनको रिपोर्ट नआएसम्म महाशाखाभित्रबाट सेवाग्राहीका लागि गरिने दैनिक कामकाज रोकिने छन् ।

ताजा समाचार

सम्बन्धित समाचार