Tuesday, October 29, 2024

९ गतेसम्म नियमित बर्षाको संभावना, बाढीपहिरो र डुबानको उच्च जोखिम

काठमाडौ, साउन ५ (हाकाहाकी)– लगातारको झरीले देशभर बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ ।

मौसमविदका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्मै वर्षाको सम्भावना छ । विभागका अनुसार गएराति प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ का जिल्लाहरुमा अत्यधिक वर्षा मापन भएको छ ।

मौसमविदहरुले मध्यमदेखि भारी वर्षाको सम्भावना अझै रहेकाले पहिरो, डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । मौसम विज्ञान विभागको मौसमपूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । विभागका अनुसार पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन भएको छ ।

त्यसैले विष्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतका नदी तथा खोलामा बहाव सतर्कता नजिक छ । नदी र नालाको पानी किनारको सडकसम्म आउन सक्ने भएकाले अझै तीन घण्टा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैबिच बाढी सूचना केन्द्रले आज जारी गरेको सूचना अनुसार हाल बारा, पर्सा, रौतहटका धेरै स्थानमा भारी वर्षा भएको छ । थप वर्षा हुने सम्भावना रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ ।

जसका कारण नदी किनार र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्मै सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

यसैगरी परासी, बर्दघाट, डण्डा बजारलगायत नवलपरासीका धेरै स्थानमा पनि भारी वर्षा मापन भएको छ । थप वर्षा हुन सक्ने भएकाले अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने चेतावनी दिइएको छ ।
त्यसैले नवलपरासीवासीलाई आज बिहान १० बजेसम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पश्चिम राप्ती, बाँकेको ढकेरी र आसपास पनि भारी वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस क्षेत्रमा थप वर्षाको सम्भावना छ । त्यसैले डुडवा खोला र आसपास एक्कासी बाढी आउन सक्ने र राप्ती नदीमा पनि जलसतह बढ्ने भएकाले डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

सुदूरपश्चिमको डडेलधुरा जिल्लाको रंगुन क्षेत्रमा पनि अति भारी वर्षा मापन भएको छ । रंगुन क्षेत्रमा दुई घण्टाको अवधिमा १०० मी.मी. वर्षा मापन गरिएको छ । थप वर्षा हुने देखिएकाले महाकाली दोभान र आसपासका क्षेत्रमा खतरा हुन सक्छ । त्यसैले आज १० बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अत्यधिक वर्षा भएपछि जोखिम क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् सूचना पठाएर सतर्क रहन पनि भनिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार