२२ भदौ, झापा ।
विगत १ महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा रहँदै आएका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएका छन् ।
झापाका संरक्षणकर्मी शंकर लुइँटेलका अनुसार छावासहितका हात्तीको हुलले बाहुनडाँगी, शान्तिनगर लगायतका आसपासका क्षेत्रमा दैनिकजसो उपद्रव गर्दै आएको थियो । हात्तीले स्थानीय बासिन्दाका घर भत्काउने, खेतमा लहलह भएको धान खाइदिने, कुल्चिएर नष्ट गर्ने, सुपारीका बोट भाँचिदिन गरेपछि झापाका उत्तरी–पूर्वी क्षेत्रका बासिन्दा लामो समयदेखि त्रासमा थिए ।
स्थानीय नीलकण्ठ तिवारीका अनुसार हात्तीको हुल फर्केपछि केही हदसम्म भए पनि स्थानीयमा त्रास कम भएको बताए । आज बिहान बिर्तामोड नगरपालिका–७ मा एउटा एक्लो हात्ती बस्तीमा पसेपछि स्थानीय पुनः त्रसित बनेका थिए । बिहानीपख घरआँगनमै हात्ती देखिएपछि स्थानीयहरू भागाभाग गर्न बाध्य भएका थिए ।
उक्त एक्लो हात्ती बिहान बस्तीमा घुमेको करिब ४ घण्टापछि बुटाबारीस्थित चियाबगानतर्फ लागेको पत्रकार पुष्प बरालले जानकारी दिए । झापामा भारतको आसाम तथा पश्चिम बंगालका जंगलबाट मेची नदी तरेर हात्ती खाना र बासको खोजीमा बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गर्छन् ।
तिवारीका अनुसार नेपाल–भारत सीमामा लगाइएको सोलार फेन्सिङ (बिजुलीको झट्का दिने तारबार) पुरानो र जीर्ण हुँदै गएकाले हात्तीहरू सजिलै नेपालतर्फ छिर्ने गरेका छन् । जिल्लामा बर्सेनि हात्तीको आक्रमणबाट सर्वसाधारणले ज्यान गुमाउनुका साथै लाखौँ रूपैयाँ बराबरको अन्नबाली र धनमालको क्षति हुने गरेको छ ।
रासस





