काठमाडौ, साउन २ (हाकाहाकी)– सलहका अरु झुण्ड पनि नेपाल प्रबेश गर्ने सम्भावना बढेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
शनिबारदेखि हावाको दिशा दक्षिण पश्चिमबाट उत्तर पूर्वी क्षेत्रतर्फ बहने भएकाले भारतको राजस्थानमा रहेका सलहको अरु केही झुण्ड नेपाल आउने सम्भावना बढेको केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिनुभयो ।
आज हावाको दिशा उत्तर पश्चिमतर्फ बहने र भोलिदेखि परिवर्तन भएर उत्तर पूर्वी क्षेत्रतर्फ बहने भएकाले सलह आउने सम्भावना देखिएको हो । अफ्रिकाबाट अरबियन मुलुक र पाकिस्तान हुँदै भारतमा नयाँ नयाँ सलहको झुण्ड आउने क्रम चलिरहेकोले नेपालमा पनि सतर्कता अपनाउनुपर्ने केन्द्रका प्रमुख हुमागाईंको भनाई छ ।





