काठमाडौ, असार ३१ (हाकाहाकी)— सिन्धुपाल्चोक र संखुवासभामा आएको बाढि पहिरोमा परि वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।
खोजी कार्य भइरहेतापनि अहिलेसम्म वेपता भएको पत्तो लाग्न सकेको छैन । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५, जम्बु र भोटेकोसी गाउँपालिका ५, बुलकोटेमा गएको बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजी जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोसीले बगाएको आशंका गरिएको छ ।
चार दिनदेखि स्काभेटर लगाएर खोजी गर्दा पनि बेपत्ताको शव भेटिने सम्भावना न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।
यसैबिच सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ ।
खोजीकार्यमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार तीन दिनअघि गएको पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीय सरकार र स्थानीय बासिन्दाको सक्रियतामा खोजीकार्य जारी राखिएको छ ।
नेपालमा मनसुन सुरु भएपछि जेठ ३० गतेदेखि असार ३० गतेसम्मको अवधिमा बाढी र पहिरोमा परी ९५ जनाको मृत्यु, ४७ जना बेपत्ता र ८२ जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।





