काठमाडौ, असार ७ (हाकाहाकी)– आषाढ कृष्ण औँसीका दिन आइतबार खण्ड ग्रास सूर्यग्रहण लाग्दैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १० बजेर ५० मिनेटमा स्पर्श गर्नेछ । मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्य र अपराह्न २ बजेर २३ मिनेटमा ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभएको छ । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उहाले बताउनुभएको छ ।
शास्त्रीय मान्यताअनुसार गएराति १० बजेर ५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । यस वर्ष नेपालबाट सूर्यग्रहण आजको मात्र रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
यसैबिच, वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरीकाले सबैले ग्रहण हेर्न सकिने पनि नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभएको छ ।
सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेन नहुने भएकाले सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनुपर्ने समितिले जनाएको छ ।
आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुने भएकाले प्रत्यक्ष रुपमा सुर्य ग्रहण हेर्न नहुने बिज्ञले सुझाव दिएका छन ।
सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लवले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युव च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्नेछ ।
काठमाडौँबाट मध्याह्न १२ बजेर ४ मिनेटका समयमा सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिनेछ । यसैकारण ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने खगोलविद्हरु बताउछन ।