काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आगामी ५ वर्षभित्र सबै नागरिकलाई विद्युत् सेवा उपलब्ध गराउने गरी सरकारले योजना अघि सारेको बताएका छन्।
३५ प्रतिशत नागरिक विद्युत सेवाको पहुँचमा रहेको उल्लेख गर्दै मन्त्री पुनले सरकारले ३ वर्षमा ३ हजार, ५ वर्षमा ५ हजार र १० वर्षमा १० हजार मेगावाट विद्युत् उपलब्ध गराउने लक्ष्य निर्धारण गरेको बताएका हुन्।
शुक्रबार ललितपुरमा आयोजित सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनमा मन्त्री पुनले विद्युत्को खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने र त्यसका लागि सबै वर्ग तथा क्षेत्रलाई समेटेर अगाडि बढ्ने बताए।
ऊर्जा मन्त्रालयका अनुसार हाल १ हजार ७३ मेगावाट क्षमता बराबरका विद्युत आयोजनाहरू राष्ट्रिय विद्युत प्रणालीमा आबद्ध रहेकोमा जलविद्युतबाट १ हजार १६ मेगावाट, डिजेल-मल्टिफ्युलबाट ५४ मेगावाट र सौर्य ऊर्जाबाट २ दशमलव ६८ मेगावाट रहेको छ।
यसैगरी, जडित १ हजार ७३ मेगावाटमध्ये नेपाल विद्युत प्राधिकरणबाट ५ सय ६२मेगावाट र निजी क्षेत्रबाट ५ सय ११ मेगावाट आपूर्ति भइरहेकोमा भारतबाट ४ सय ५० मेगावाटसम्म आयात गरिने गरिएको मन्त्रालयले जनाएको छ।
गत फागुनसम्मको तथ्यांक अनुसार प्राधिकरणको ग्राहक संख्या ३४ लाख ६५ हजार ८ सय २२ रहेको छ।