Tuesday, December 24, 2024

सातै प्रदेशले सार्वजनिक गरे आव ०७७/७८ को बजेट

काठमाडौ, असार १ (हाकाहाकी)– देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७७ र ७८ को बजेट सोमबार सार्वजनिक गरेका छन् ।

संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणा गरेको छ भने अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने उल्लेख गरेको छ ।

प्रदेश सरकारहरूले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । बजेट सार्वजनिक गर्ने क्रममा प्रदेश १ सरकारले आउने आव ०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार विनियोजन गरिएको छ ।

त्यस्तै पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार, वित्तीय व्यवस्थातर्फ ४ करोड र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।

यसैगरि,गण्डकी प्रदेश सरकारले आव ०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट अर्थमनत्री किरण गुरुङले प्रस्तुत गर्नुभएको हो ।

गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा स्वास्थ्य, कृषि, उद्योग, रोजगार, शिक्षामा जोड दिएको छ । यस्तै, प्रदेश ५ सरकारले ०७७/७८ का लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको वार्षिक बजेट आज प्रदेश सभामा प्रस्तुत गरेको छ।

मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा बजेट प्रस्तुत गर्नुभएको हो । बजेट पेस गर्दै मुख्यमन्त्री पोखरेलले चालु खर्चतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ १८ अर्ब ६२ करोड रुपैयाँ र वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड ५० हजार रुपैयाँ छुटइएको बताउनुभयो । बजेटले स्वास्थ्य पूर्वाधार, अर्थतन्त्र पुनरुत्थान र उत्पादनमूलक रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको छ।

कोरोनाकै कारणले गएका बजेटमा भन्दा भिन्दै प्राथमिकता छनोट गरिएका हुन् । त्यस्तै, कर्णाली प्रदेश सरकारले आव ०७७÷०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आजको कर्णाली प्रदेशसभामा पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार, चालुतर्फ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको छ ।

यसैगरि,सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव ०७७÷७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।

चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको मन्त्री बोहराले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार