काठमाडौ, जेठ २४ (हाकाहाकी)– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्या बढेर दुई हजार २ सय ७२ पुगेको छ । गत वैशाख २१ गतेदेखि २७ गतेसम्म गरिएको अनुगमनबाट बाह्रसिङ्गाको संख्या बढेको पाइएको हो ।
बाह्रसिङ्गाको पहिचानका रुपमा यस निकुन्जलाई लिने गरिन्छ । बाह्रसिङ्गाको बासस्थानमा सुधार गरिएपछि सङ्ख्यामा बढेको निकुन्जका अधिकारीहरु बताउँछन् ।
विश्व वातावरण दिवसका अवसरमा शुक्रबार बाह्रसिङ्गा अनुगमनको प्रतिवेदन सार्वजनिक गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले गएको वर्ष बाह्रसिङ्गाको सङ्ख्या दुई हजार २४६ रहेकामा यस वर्ष बाह्रसिङ्गाको सङ्ख्या २६ ले बढेको बताउनुभो ।
उहाँका अनुसार अवलोकनका क्रममा ४०४ वयस्क भाले, ८६४ वयस्क पोथी, १४४ अर्धवयस्क भाले, ५५४ अर्धवयस्क पोथी र २२३ पाठापाठी देखा परेका छन् ।
यसैगरी लिङ्ग नखुलेका बाह्रसिङ्गाको सङ्ख्या ८३ रहेको छ । बाह्रसिङ्गा नेपाल र भारतमा मात्रै पाइने स्तनधारी वन्यजन्तु हो ।
नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै पाइने गरेको छ । शुक्लाफाँटा घाँसे मैदानमा विश्वमा नै सबैभन्दा ठूलो झुण्डका रुपमा रहेको बाह्रसिङ्गा अवलोकन गर्न सकिन्छ ।
शुक्लाफाँटाको घाँसेमैदानसहित सुन्दरीफाँटा, हरैयाफाँटा, बिचुवाफाँटा, अण्डैयापटैयाफाँटा, करैयाफाँटा र नजिकका निकुञ्जभित्रको वन र सिमसार क्षेत्र बाह्रसिङ्गाको बासस्थानका रुपमा रहेको छ ।
बाह्रसिङ्गा संवेदनशील, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस)मा अनुसूचि १ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा सूचिकृत रहेको छ ।