१४ कात्तिक, काठमाडौं
नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढेको छ ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा बाढीले ल्याएको फोहर पनि विसर्जन गर्नुपरेको हो । दैनिक लगिने फोहर निकै बढेको छ ।
यसअघि उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जनमा २ सय गाडी प्रयोग हुँदै आएकामा गत असोज १२ को वर्षापछि दैनिक ३ सय गाडी उपयोग हुँदै आएका छन् । हाल दैनिक रूपमा १ हजार ६ सय मेट्रिक टन फोहर व्यवस्थापन भइरहेको छ ।
साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत २ वर्षदेखि अन्तिम फोहर व्यवस्थापनस्थलका रूपमा बञ्चरेडाँडालाई गरिँदै आएको छ । यसरी उपत्यकामा उत्पादन भएको सबै फोहर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ ।
पुनः प्रयोग गर्न सकिने फोहर पनि बञ्चरेडाँडामै पुगेको बताउँदै कामपाको वातावरण विभाग प्रमुख सरिता राई भन्छिन्, ‘कुहिएर मल हुने कच्चा पदार्थ पनि त्यही लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर बञ्चरेडाँडामा नै लगिएको छ । यसलाई रोक्न सकेमात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिन्छ ।’
रासस