Thursday, October 31, 2024

डढेलो र प्रदूषण जोखिम घटाउन नेवापसद्वारा सरकारको ध्यानाकर्षण

१५ कात्तिक, काठमाडौं
नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले डढेलो, आगलागी र वायु प्रदूषणको जोखिम घटाउने गरी प्रभावकारी पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

सुक्खायाम सुरू भएसँगै वन डढेलोका घटना बढेर वायु प्रदूषणको स्तर खस्किन थालेपछि नेवापसले तीनै तहका सरकारको ध्यानाकर्षण गराएको हो । वर्षभर नै कुनै न कुनै विपतको सामना गरिरहेको नेपाल बाढीपहिरोको संकटपछि डढेलो र वायु प्रदूषणको जोखिममा परेको नेवापसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासचिव कमलदेव भट्टराईद्वारा मंगलबार (१४ कात्तिकमा) जारी विज्ञप्तिमा भनिएको छ, ‘मनसुन सकिएसँगै काठमाडौं उत्यकासहित मुलुकका अन्य सहरमा वायु प्रदूषणको ग्राफ उकालो लागेको र आगलागी–डढेलोका घटनामा वृद्धि भइरहेकोप्रति नेफेज संघ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँछ । राज्य संयन्त्रले डढेलोको जोखिम घटाउन र वायु प्रदूषण रोकथामका लागि समयमा नै कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

वन तथा वातावरण मन्त्रालय, मन्त्रालय मातहतका निकाय र सरोकारवालाले ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’ कार्यान्वयनमा चासो नदिएको उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘सवारीसाधनको प्रदूषण जाँच पनि मौसमी हुने गरेको छ ।’ वायुप्रदूषण र आगलागी, डढेलोले विपतको रूप लिने गरेको विगतका दृष्टान्त रहेकाले रोकथाम र क्षति न्यूनीकरणका लागि अहिले नै तयारी थाल्न नेवापसले सरकारको ध्यानाकर्षण गराएको हो ।

हिउँदयाममा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डभन्दा १० गुणा बढी (पिएम–२.५ को मात्रा वार्षिक ५०.९ माइक्रोग्राम प्रतिघनमिटर) पुग्ने गरेको छ । मध्य हिउँदका बेला देशव्यापी डढेलो र प्रदूषण बढेपछि शैक्षिक संस्थाको पठनपाठन स्थगित गर्नुपरेको विगत छ । विगत एक साताको अवधिमा ३२ ठाउँमा आगलागी भएको गृह मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकले देखाउँछ ।

ताजा समाचार

सम्बन्धित समाचार