काठमाडौ, जेठ २२ (हाकाहाकी)– कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनै पर्ने परिस्थितिमा रहेका नेपालीलाई शुक्रबारदेखि स्वदेश ल्याइने भएको छ ।
पहिलो चरणमा भोलिसंयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीबाट १५० जनाभन्दा बढी नेपाली स्वदेश फर्कने निश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीका अनुसार एयर अरेबियाको ‘चार्टर फ्लाइट’बाट १६८ यात्री क्षमताको विमानले नेपालीलाई ल्याउनेछ ।
त्यसका निम्ति परराष्ट्र मन्त्रालयले अबुधाबीस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको छ ।
विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सहजीकरण र समन्वयको जिम्मेवारी पाएका दुवै मन्त्रालयले प्राथमिकताका आधारमा नेपालीलाई ल्याउन आवश्यक गृहकार्य गरिरहेको छ ।
श्रम करारका साथै प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामीको आगमनलाई प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई पनि स्वदेश फर्काउने प्राथमिकताको सूचीमा समावेश गरिएको छ ।
विदेशबाट फर्किएका सबैलाई क्वारेन्टिनमा राखिने जनाइएको छ । त्यसअघि उनीहरु जहाँबाट आउने हो त्यही नै स्वास्थ्य परीक्षण गरिनेछ भने नेपाल आएपछि पनि फेरि स्वास्थ्य परीक्षण गरिनेछ । क्वारेन्टिनको प्रक्रिया पूरा गरेपछि मात्र उनीहरूलाई आ–आफ्नो घर पठाइनेछ ।
काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका विभिन्न स्थानमा विदेशबाट आउने नेपालीका लागि ‘होल्डिङ सेन्टर’को व्यवस्था गरिएको छ ।