काठमाडौ, जेठ २१ (हाकाहाकी)– भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांकमा पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ९ सय ९ जना कोरोनाभाइरसबाट संक्रमित भएको एएनआई समाचार संस्थाले जनाएको छ ।
योसँगै देशभरी अहिलेसम्म संक्रमितको संख्या २ लाख ७ हजार ६ सय १५ पुगेको समाचारमा जनाइएको छ । त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर भारतमा अहिलेसम्म ५ हजार ८ सय १५ जनाको मृत्यु पनि भइसकेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभरी अहिले पनि १ लाख १ हजार ४ सय ९७ जना संक्रमित अवस्था मै छन् ।
त्यसैगरी १ लाख ३ सय ३ जना संक्रमण मुक्त भएर घर फर्किसकेको स्वास्थ्य अधिकारीहरुले बताएको समाचारमा उल्लेख छ । मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म सवैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । महाराष्ट्रमा मात्रै ७२ हजार ३ सय जना संक्रमित छन् ।
भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएको समाचारमा जनाइएको छ ।