काठमाडौ, जेठ २१ (हाकाहाकी)– सरकारले कोभिड १९ को संक्रमणदेखि मृत्यु हुँदासम्म निको नभएका व्यक्तिलाई मात्र कोभिड १९ का कारण मृत्यु भएको मान्ने भएको छ ।
सरकारले तयार पारेको नयाँ परिभाषा अनुसार कोरोना पोजेटिभ देखिए पनि कोरोनाबाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ बाट मृत्यु भएको मानिने छैन ।
यसअघि मृत्यु हुँदाको बखत कोरोना संक्रमण देखिएको व्यक्तिलाई कोभिड १९ का कारण मृत्यु भएको मान्ने गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डब्लुएचओको मापदण्डका कारणले नेपालमा अन्य कारणले मृत्यु भएका बिरामीलाई पनि कोभिड १९ का कारण मृत्यु भएको मान्नुपरेको आशयको अभिव्यक्ति दिनुभएको छ ।
यसैबीच कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६ को संशोधन गरी सरकारले कोभिड १९ बाहेकका अन्य कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ का कारणले मृत्यु भएको नमानिने नियम बनाएको छ।
संशोधित कार्यविधिमा कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ को क्लिनिकल लक्षण तथा चिह्नहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसहरूलाई भन्ने बुझ्नुपर्छ ।
कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधिबीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ । कोभिड –१९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बिरामीको कोभिड(१९ सँग कुनै पनि सम्बन्ध नभएको घटना (जस्तै चोटपटक) बाट मृत्यु भएको पुष्टि भए मात्र कोभिड १९ का कारण मृत्यु नभएको मानिन्छ ।