Monday, April 21, 2025

हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति

चितवन–चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार केरामा मात्रै ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताए। ‘अहिलेसम्म साढे ४२ करोड रुपैयाँको क्षति भएको तथ्यांक आएको छ,’ श्रेष्ठले भने, ‘काम जारी रहेको र निवेदन आउने क्रम रहेकाले क्षति अझै बढ्ने अनुमान छ।’ उनले विवरण संकलनको काम जारी रहेको बताए।

यही वैशाख २३ गते रातिको भीषण हावाहुरी र असिनापानीले चितवनको कृषि क्षेत्रमा यसरी नोक्सान गरेको हो।

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले चितवनको कालिका नगरपालिकास्थित साबिक पदमपुर गाविसमा मात्रै २० करोडको केरा क्षति भएको जानकारी दिए। त्यसपछि रत्ननगर, जुटपानी, जमुनापुर, चैनपुर र ठिमुरामा केरा क्षति भएको छ।

उनले ६२० केरा किसानमध्ये करीब ५ सय जनाको क्षति भएको जानकारी दिँदै अहिलेसम्म बीमा गरेका १ सय ६५ किसानमध्ये १ सय ६० जनाले क्षतिपूर्तिका लागि निवेदन दिइसकेका बताए। अरू सयौँ किसानको बीमा नहुँदा ठूलो क्षति बेहोर्न बाध्य छन्।

उनीहरुले सरकारबाट राहत पाउनुपर्ने माग गर्दै आएका छन्। बीमा गर्ने शिखर इन्सुरेन्स कम्पनीले शततिशत क्षति भएका किसानका लागि एक महिनाभित्र क्षतिपूर्ति दिनेगरी स्थालगत अनुगमन गरिरहेको पन्तले बताए। पन्तले आफ्नो सात बिघामा ५० प्रतिशत र अर्को १६ विघाको प्लटमा २५ प्रतिशत केरा क्षति भएको जानकारी दिए।

स्थानीयवासी शंकर सुवेदीले करीब ६० लाखभन्दा बढीको केरा क्षति भएको दाबी गरे। रासस

ताजा समाचार

सम्बन्धित समाचार