काठमाडौ, जेठ २१ (हाकाहाकी)– स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या २ हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय बौद्ध संस्था चुजी फाउण्डेशनको पहलमा हेल्थ इन्भाइरोन्मेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशन(हेकाफ) ले बुधबार उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्य अवस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसन कक्ष स्थापना गरी त्यहाँ राखिने बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा संक्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्य अवस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नाका लागि अब नयाँ नीतिमा जाने स्पष्ट गर्नुभयो ।
मन्त्री ढकालले मुलुकमा १५ हजारसम्म संक्रमित हुन सक्ने आकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्रबन्धमा सरकार लागेको जानकारी दिँदै स्वास्थ्य सामग्रीको अभाव भएका बेला प्राप्त सहयोगलाई अतिआवश्यक ठाउँ हेरेर पारदर्शीरूपमा वितरण गरिने बताउनुभएको छ ।
फाउण्डेशनका अध्यक्ष महेश नकर्मीले ३० थान भेन्टिलेटरसहित एक करोड ७० लाख मूल्य बराबरको सामान उपब्ध गराइएको जानकारी दिँदै कोरोना उपचार र रोकथामका क्रममा सरकारसँग मिलेर आउने दिनमा पनि निरन्तर सहयोग गरिने विश्वास दिलाउनुभयो ।
सन् १९६६ मा बौद्ध गुरुमा चेङ येनको सक्रियतामा स्थापित फाउण्डेशनको संयुक्त राज्य अमेरिका, चीन, क्यानडासहित ६३ मुलुकमा शाखा स्थापित छन् ।