Sunday, November 3, 2024

कोरोना संक्रमितको संख्या २ हजार ३ सय, बुधबार एक जनाको मृत्यु

काठमाडौ, जेठ २१ (हाकाहाकी)– एक साता यता लगातार बढिरहेको कोरोना संक्रमितको संख्या बुधबार केही घटेको छ । बुधबार थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बुधबार देशभरमा २ सय १ जना संक्रमित थपिएको जानकारी दिनुभएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा धनकुटाका १ जना, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाचथर १, सुनसरीका ८, पर्साका ७, र दैलेखका७ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, र रुपन्देहीका २७ जना कोरोना संक्रमित रहेका छन् ।
त्यस्तै, महोत्तरीका ९, कालिकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३ जना, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, र सिन्धुपाल्चोकका एक जना संक्रमितहरु छन ्।

मन्त्रालयका अनुुसार आज थप १२ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना निको भएर घर फर्कनेको संख्या २७८ पुगेको छ ।

मृत्यु हुनेको संख्या ९ पुग्यो
यसैबीच, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दोलखाका ७६ वर्षीय व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । १५ जेठमा उनमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।

मन्त्रालयले अस्पतालको आईसीयूमा उपचाररत उनको बुधबार मृत्यु भएको जनाएको छ । उनलाई ह्यामो ¥याजिक स्ट्रोक थियो र १५ गते उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि टिचिङ अस्पतालको आइसीयूमा भर्ना गरिएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

योसहित नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, ललितपुर, बाँके, गुल्मी, बारा, अर्घाखाँची, दैलेख र बाजुरामा एक÷एक जनाको मृत्यु भएको थियो ।

यसैगरी, पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९२४ र आरडिटी विधिबाट ४ हजार ३४ वटा परीक्षण भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभएको छ ।
उहाँले हाल देशभर १ लाख ५५ हजार ८ सय ६८ जना क्वारेन्टिनमा रहेको बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार