Sunday, November 3, 2024

पसल खोल्न पाउनुपर्ने मागसहित प्रर्दशन

काठमाडौ, जेठ २० (हाकाहाकी)– लकडाउनका कारण व्यापार चौपट भएको भन्दै जोरपाटीका व्यवसायीले पसल खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
पसल खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीलाई प्रहरीले लखेटेको थियो । त्यसक्रममा पसल बन्द गर्न अटेर गर्ने एक जनालाई केहीबेर नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिनु भयो । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेलगायत सँग छलफल गर्ने सहमति भएपछि व्यवसायीहरुले प्रदर्शन रोकेका थिए ।

छलफलका क्रममा नगरपालिकाले पसल खोल्ने वातावरणका लागि पहल गर्ने आश्वासन दिएको छ । नगरका प्रशासकीय अधिकृत नरहरि घिमिरे भने यो विषयमा निर्णय गर्ने अधिकार नगरपालिकासँग नभएको बताउनु भयो ।

यसैगरी उपत्यकाका विभिन्न क्षेत्रका व्यवसायीले पसल खोल्न पाउनुपर्ने माग गर्दै प्रशासन गुहार्न थालेका छन् । उनीहरुले नजिकैको प्रहरी कार्यालयमा गएर लिखित निवेदन पनि बुझाएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नेपालमा लकडाउनको घोषणा गरेको ७१ दिन भइसकेको छ । र, यो अवधिसम्म आइपुग्दा लकडाउनले जिउन समेत मुस्किल हुन थालेको भन्दै खुकुलो पार्न जनस्तरबाट माग हुँदै आएको छ ।
यसैबीच सरकारले जेठ ३२ सम्म बढाउको लकडाउन लाइ थप व्याख्या गरेर केही स्थानमा लकडाउन खुकुलो बनाउन सकिने बारे छलफल गरिरहेको छ । कोरोना भाइरस संक्रमणको कम जोखिम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने गरी कार्ययोजना तयार पारिएको छ ।

सीसीएमसी सचिवालय र मूख्यसचिव नेतृत्वको एक्सन टिमबाट तयार पारिएको सिफारिसका आधारमा लकडाउन खुकुलो हुने गरी नयाँ कार्ययोजनाको खाका बनेको हो । यो खाकाबारे छलफल गर्न अहिले कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कायालय स्रोतका अनुसार नयाँ खाका समितिबाट पारित भए यसलाई अनुमोदनका लागि मन्त्रिपरिषद बैठकमा लगिने छ । कम जोखिम भएका क्षेत्रमा बिस्तारै जनजीवन सामान्यतर्फ लैजाने गरी कार्ययोजना तयार पारिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार