Sunday, November 3, 2024

मंगलबार थप २८८ मा कोरोना संक्रमण

काठमाडौ, जेठ २० (हाकाहाकी)– नेपालमा मंगलबार थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा यति धेरै संख्यामा संक्रमित पहिलो पटक हो । गत एक सातादेखि संक्रमितको संख्या लगातार बढिरहेको छ ।
यो सँगै संक्रमितको कुल संख्या २ हजार ९९ पुगेको छ । यसमध्ये १९४९ जना पुरुष र १५० जना महिला छन् । अहिलेसम्म कोरोना भाइरसबाट ६१ जिल्ला प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा रौतहटमा ७४, स्याङ्जामा १०, सप्तरीमा १, बर्दियामा ३, बाँकेमा १७, सुर्खेतमा २७, दैलेखमा ९, सल्यानमा १८, अछाममा १०, बारामा १, दाङमा १७, प्युठानमा १, कञ्चनपुरमा ८, कैलालीमा १०, धनुषामा ६,महोत्तरीमा २, सर्लाहीमा २१,सिराहामा १७, भक्तपुरमा १, धादिङमा २३, कपिलवस्तुमा १६, काठमाडौँमा ४, नवलपरासीमा २, नुवाकोटमा २ र स्पन्देहीमा १० जना संक्रमित थपिएका हुन् ।
१८ जना कोरोना संक्रमित उपचारपछि घर फर्किए
काठमाडौ, जेठ २० (हाकाहाकी)– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मंगलबार थप १८ जना कोरोनाका बिरामी निको भएर घर फर्किएका छन् ।

घर फर्किनेमा झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला गरी १८ जना छन् । उनीहरु सबैको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ । विराटनगर कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ३० जना डिस्चार्ज भएका छन् । सोमबार प्रदेश १ मा १ सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो जसमध्ये ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जना विराटनगरको कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्रमा उपचाररत छन् ।

यसैबीच रौतहटमा मंगलबार एकैदिन ७४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३०७ पुगेको छ ।

मंगलबार राजपुर नगरपालिकाका २१, राजदेवी नगरपालिकाका १८, दुर्गाभगवती गाउँपालिकाका १४, गौर नगरपालिकाका १३, परोहा नगरपालिकाका चार, यमुनामाई गाउँपालिकाका तीन र गढीमाई नगरपालिकाका एकजनामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

थपिएका नयाँ संक्रमितहरुको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ । उनीहरु सबैजना हालै भारतबाट फर्किएका हुन् । स्वदेश फर्किएसँगै सम्बन्धित पालिकाको ‘क्वारेन्टाइन’मा बसेका उनीहरुको ‘पीसीआर’ परीक्षणमा कोरोना पुष्टि भएको जनाइएको छ ।
संक्रमितलाई जिल्लाकै ‘आइसोलेसन’मा स्थानान्तरण गरिने रौतहटका जनस्वास्थ्य प्रमुख महेश साहले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशमा मंगलबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा सुर्खेतका ११ जना पुरुष, सल्यानका ९ जना पुरुष र अछामका ६ जना पुरुष र दुई जना महिला रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार