Sunday, November 3, 2024

महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत सबैको कोरोना परीक्षण नेगेटिभ

काठमाडौ, जेठ १८ (हाकाहाकी)– महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत २३१ जना प्रहरीको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त, महानगरीय ट्राफिक प्रभाग कालीमाटी र संक्रमितको सम्पर्कमा आएका २३१ प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले २३१ जनाकै रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त सिल गरिएको थियो ।

सबैको रिपोर्ट नेगेटिभ आएपछि वृत्तमाथि लगाइएको सिल हटेको र सबै प्रहरी पूर्ववतः ड्युटीमा परिचालन गरिएको एसएसपी ज्ञवालीले बताउनुभयो । यसअघि संक्रमितको सम्पर्कमा आएका सबै प्रहरी कार्यालयमै क्वारेन्टाइनमा राखिएको थियो ।
कोरोना संक्रमण भएका दुवै प्रहरी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । एसएसपी ज्ञवालीका अनुसार उनीहरुको सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड–१९ अस्पतालमा उनीहरुको अन्य रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार