Tuesday, November 5, 2024

वरिष्ठ गीतकार रत्नशम्सेरको ८२ बर्षको उमेरमा निधन

काठमाडौ, जेठ १५ (हाकाहाकी)– वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८२ वर्षको उमेरमा निधन भएको छ ।

ढाडको नसासम्बन्धी समस्याबाट पीडित उहाँको आज मध्याह्न थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ ‘यसपालि त मनै फाट्यो, केले सिउने’, ‘ठट्टैमा यो बँैस जान लाग्यो…’, घुम्तीमा नआउ है…, ‘त्यो खोलाको सङ्लो पानी खाइजाऊँ खाइजाऊँ लाग्छ…’ आदि सयौँ लोकप्रिय गीतका रचनाकार हुनुहुन्थ्यो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले गीतकार थापाको निधनले गीत–सङ्गीतका क्षेत्रमा अपूरणीय क्षति भएको बताउनुभयो ।

उहाँका श्रीमती र दुई छोरा छन् । नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव श्याम तकोटले गीतकार थापा पाँच दशकदेखि निरन्तर लेखिरहने गीतमै समर्पित र स्वाभिमानी स्रष्टा भएको बताउँदै उहाँप्रति श्रञ्द्धाजलि व्यक्त गर्नुभयो ।

गीतकार राजेन्द्र थापाले नेपाली आधुनिक गीतको खुट्टामध्येका रत्नशमशेर र किरण खरेल रहेकामा एक खुट्टा अन्त्य भएको प्रतिक्रिया दिनुभयो । २०१८ मा त्रिचन्द्र कलेजमा पढ्दा पढ्दै नारायणगोपाल र रत्नशमशेर मिलेर भारतको कोलकत्तामा गएर ‘स्वर्गकी रानी’ एकैपटक ग्रामोफोन (चक्का) मा रेकर्डिङ गराएको स्मरण गर्नुभयो । त्यसपछि ती गीतहरु रेडियो नेपालमा प्रसारित हुन थालेका थिए ।

रत्नशमशेरका गीतमा नातिकाजी, गोपाल योञ्जन, अम्बर गुरुङ, तारादेवी, शिवशङ्कर, प्रेमध्वज प्रधान आदि लोकप्रिय सङ्गीतकार गायकले सहकार्य गर्नुभएको थियो ।

उहाँ काठमाडौँको कमलपोखरीमा बस्दै आउनुभएको छ । गीतकार थापाको कोरोना भाइरसको परीक्षण गरेपछि अन्त्येष्टि गरिने जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार