Tuesday, November 5, 2024

फ्रान्समा ‘हाइड्रोक्सि क्लोरो क्वीन’ औषधिको प्रयोगमा प्रतिबन्ध

काठमाडौ, जेठ १५ (हाकाहाकी)– फ्रान्सले कोरोना भाइरसको उपचारका लागि हाइड्रोक्सि क्लोरो क्वीनको प्रयोगमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ ।

औलो रोगको उपचारमा प्रयोग हुने यो औषधि कोरोना भाइरसको उपचारमा हानिकारक रहेको अनुसन्धानबाट देखिएपछि फ्रान्सले प्रतिबन्ध लगाएको एएनआई समाचार संस्थाले जनाएको छ ।

फ्रान्सका दुईवटा स्वास्थ्य निकायहरु एचसीएसपी र एएनएसएमले कोभिड–१९ को उपचारमा हाइड्रोक्सि क्लोरो क्वीनको प्रयोग गर्न नहुने सल्लाह दिएको एक दिनपछि फ्रान्सले यस्तो निर्णय गरेको हो । अध्ययनमा यस औषधिका नकारात्मक र डरलाग्दा असर हुने भेटिएको छ ।

साथै, विश्व स्वास्थ्य संगठनले सोमबार घोषणा गरेझैं फ्रान्समा यस औषधिको क्लिनिकल परीक्षणमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का विरामीलाई औलो विरुद्धको औषधि हाइड्रोक्सि क्लोरो क्वीन सिफारिस गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।
कोरोना भाइरसको कुनै खोप वा प्रामाणिक औषधि पत्ता नलागेको अवस्थामा फ्रान्सले गएको मार्चमा यस औषधिलाई कोभिड–१९ का विरामीले सेवन गर्न सक्ने भन्दै अनुमति दिएको थियो ।

बेलायती मेडिकल जर्नल ल्यान्सेटले कोभिड–१९ का बिरामीलाई हाइड्रो क्लोरो क्वीन औषधि सेवन गर्न दिइए त्यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने, व्यक्तिको मृत्यु हुने भन्दै प्रयोग गर्न नहुने बताएको समाचारमा उल्लेख छ ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोना भाइरसको उपचारका लागि हाइड्रो क्लोरो क्वीनको प्रयोगलाई प्रबद्र्धन गरिरहनुभएको समाचारहरुमा आइरहेका छन् । दुबै देशमा कोरोना संक्रमितको संख्या भने बढी नै छ ।

ताजा समाचार

सम्बन्धित समाचार