काठमाडौ, जेठ १५ (हाकाहाकी)– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघीय संसदमा दर्ता संविधान संशोधन प्रस्तावमा छलफल गर्न शनिबार पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा यही जेठ १७ गते दिउँसो १ बजे बस्ने बैठकमा प्रस्ताव सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । यही जेठ ११ गतेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकले सरकारद्वारा संसद्मा प्रस्तुत प्रस्तावमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार केन्द्रीय समिति बैठक बोलाइएको हो ।
सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि यही जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो ।