काठमाडौ, जेठ १५ (हाकाहाकी)– नेपालमा बिहीबार थप १५६ जना कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या पछिल्लो सातामा हरेक दिन बढिरहेको छ । बिहिबारका संक्रमितसहित कुल संख्या १ हजार ४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा १५६ जना नयाँ संक्रमित थपिएका हुन् । बुधबार यो संख्या ११४ थियो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । कुल संख्यामध्ये पुरुष ९४० जना र महिला १०२ जना छन् ।
कोरोना संक्रमितको संख्या बढेसँगै मृतकको संख्या ५ पुगेको छ । यसैगरी, कोरोना भाइरस को सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु भएका मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो । किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको हिजो मुत्यु भएको हो । यसअघि बारा, सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक–एकजनाको मृत्यु भएको थियो ।
योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या १९० पुगेको उहाँले बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बिहीबार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चार वर्षकी बालिकादेखि ७० वर्ष उमेर समूहका छन् ।
रौतहटका २० जनामा संक्रमण पुष्टि भएको छ । टेकुमा गरिएको परीक्षणमा ३ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको हो । यस्तै महोत्तरीका १७ जना, सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा १४ जनामा संक्रमित थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परिक्षण तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३२ र ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै दैलेखमा ८ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतकै १३, बझाङका एक र पहिचान खुल्न नसकेकी एक महिला गरी १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
दोलखाका १९ र २० वर्षका दुई पुरुष, सोलुखुम्बुका ५५ वर्षका पुरुष, मकवानपुरका ५० वर्ष पुरुष र नवलपुरका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सेती अस्पतालमा गरिएको परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यस्तै भेरी अस्पताल, नेपालगञ्जको प्रयोगालामा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ