Friday, September 20, 2024

काष्ठमण्डपका काठको व्यवस्थापन गरिदै

नवीन लुईटेल
–काष्ठमण्डपमा रहेका ११ सय वर्ष पुराना काठलाई सुरक्षित रहने गरी व्यवस्थापन सुरु गरिएको छ ।
काष्ठमण्डपका काठ अव्यवस्थित ढंगले राखिएको गुनासो बढेपछि काष्ठमण्डप पुनर्निर्माण समितिले बिहीबारदेखि काठ व्यवस्थित गर्न राख्न चासो देखाएको हो ।
समितिका अध्यक्ष एवं प्रदेशसभाका सांसद राजेश शाक्यले काष्ठमण्डपको काठलाई हनुमानढाका प्रहरी परिषदमा राख्न सुरु गरिएको जानकारी दिए । भत्किएको स्थानमा पुरातात्विक महत्वका काठसमेत संरक्षण हुन नसकेपछि यस्तो कदम चालिएको उनले बताए ।
‘पुरातात्विक महत्वको सम्पदा त्यसै खेर जान लागेको भनेर हामी संरक्षणमा जुटेका छौँ,’ समितिका अध्यक्ष शाक्यले भने, ‘११ सय वर्ष पुराना काठको महत्व धेरै छ ।’
५१ सदस्यीय समितिले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा काठलाई सुरक्षित ढंगले राखेको हो । समितिले काठ व्यवस्थानका लागि श्रमदान गर्न सर्बसाधारणलाई आह्वान पनि गरेको छ ।
भुइँचालो गएको तीन वर्ष पुग्दा पनि विवादका कारण पुनर्निर्माणको काम अघि बढ्न नसक्दा काष्ठमण्डपका काठ कुहिने गरी अलपत्र अवस्थामा पुगेका थिए । घामपानीले काठ कुहिन थालेकोमा सम्पदाविद्हरुले चिन्ता व्यक्त गरेका थिए ।
प्रदेशसभा सांसद शाक्यको संयोजकत्वमा काष्ठमण्डप पुनर्निर्माण समिति रहेको छ । सातौ शताब्दीमा बनेको पुष्टि भएको काष्ठमण्डप उपत्यकाको सभ्यताकै प्राचीन संरचना हो । यही सत्तलको नामबाट उपत्यकाको नाम काठमाडौं रहन गएको हो ।
भुइँचालो गएको दस महिनापछि यसको पुनर्निर्माण सुरु गर्ने गरी काठमाडौं महानगरपालिकाले तयारी गरेको थियो । यसको नक्सामै विवाद भएपछि पुनर्निर्माण रोकिएको थियो । यो समिति स्थानीय सरकार, प्रदेश र संघीय सरकार मिलेर बनाएको दाबी शाक्यले गरेका छन् । प्रदेश, स्थानीय र संघीय सरकारको संयुक्त सहभागितामा साढे तीन बर्षभित्र बनाइसक्ने शाक्यले हाकाहाकीलाई बताए । पुरातात्विक महत्वको काठ काष्ठमण्डप, शिव पार्वती सत्तल, हनुमानढोका चोक, भैरव मूर्ति अगाडि बेवारिसे अवस्थामा रहेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार