Sunday, September 14, 2025

नियोजित रूपमै काटिए २२५ बढी रूख

२७ भदौ, काठमाडौँ।
जेनजी आन्दोलनको बहानामा महोत्तरीमा २ सय २५ भन्दा बढी रूख काटिएका छन् ।

बर्दिबास नगरपालिका– ५ टुटेश्वरमा नियोजित रूपमा रूख ढालिएको हो । काटिएका रूख टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति मातहतका हुन् ।

समिति अध्यक्ष विनय झाका अनुसार मंगलबार र बुधबार (२४ र २५ भदौमा) यो घटना भएको हो । सडक किराना आसपासका क्षेत्रमा बढी क्षति भएको छ । टुटेश्वरनाथ मन्दिर जाने बाटो, चेरू गाउँतर्फ र गढन्ता गाउँ जाने बाटोमा जथाभावी रूख काटिएको झाले बताए । उनका अनुसार अधिकांश रूख सालका छन् ।

मंगलबार वन कार्यालयमा आगजनी गर्न गएका युवाले सुरूमा कार्यालयमा आगो लगाउने प्रयत्न गरेका थिए । कार्यालयमा आगजनी गर्न असफल भएपछि वनतिर छिरेका उनीहरूले रूख काटेका झाले बताए ।

आज शुक्रबार प्रमुख जिल्ला अधिकारी नारायण रिसाल, डिभिजन वन प्रमुख अजय मिश्र, साझेदारी वन समितिका पदाधिकारीहरू, जनप्रतिनिधि र स्थानीयले काटिएका रूखको संख्या यकिन गरेको हो ।

काटिएका रूखको विस्तृत विवरण संकलन गर्न अझै बाँकी छ । ‘यस्तो काममा संलग्न केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । अन्य व्यक्तिहरूको पनि पहिचान भइसकेकाले छिट्टै कानूनी कारबाही अघि बढाइने छ’, डिएफओ मिश्रले भने ।

ताजा समाचार

सम्बन्धित समाचार