Tuesday, November 5, 2024

वातावरण क्षेत्रका पुरानै कार्यक्रमलाई निरन्तरता

काठमाडौ, जेठ १५ (हाकाहाकी)– सरकारले वन, वातावरण तथा वन्यजन्तुको संरक्षण र व्यवस्थापनका लागि अघिल्ला बर्षहरुका कार्यक्रमलाई निरन्तरता दिएको पाइएको छ । बिहीबार सार्वजनिक आव ०७७/७८ बजेट मार्फत पुराना कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

नेपालको जीवनपद्धति र समृद्धिको आधारको रूपमा रहेको वन क्षेत्रको सम्बद्र्धन मार्फत वातावरणीय सन्तुलन कायम गर्दै वन सम्पदाको बहुउपयोग गरी आय, रोजगार एवं व्यवसाय प्रवद्र्धन गरिने जनाइएको छ ।

संघ, प्रदेश र स्थानीय तह एवम वन उपभोक्ता समूहको सहकार्य र समन्वयमा वनको सुरक्षा, वृक्षारोपण र विविधीकरण गर्दै चरन क्षेत्र, सिमसार, तालतलैया, जैविकविविधता र वातावरण संरक्षण गरिनेमा जोड दिइएको छ ।

जडीबुटीको व्यावसायीक खेती विस्तार गर्दै प्रशोधन, बजारीकरण र विशिष्ट ब्राण्डिङ्ग गरी निर्यात प्रवद्र्धन गरिने भनिएको छ जसका लागि कर्णालीलगायतका हिमाली क्षेत्र र सुदुरपश्चिम प्रदेशमा जडीबुटी विकास विशेष कार्यक्रम संचालन गरिने जनाइएको छ ।

यसैगरी, मौसम पूर्वानुमानलाई थप विश्वसनीय बनाइने योजना पनि बनाइएको छ । र, बैज्ञानिक वन व्यवस्थापनमा जोड दिइने भनिएको छ । राष्ट्रिय निकुञ्ज, आरक्षण क्षेत्र, उद्यान, शिकार आरक्ष, तथा सामुदायिक वनहरुलाई प्रकृतिमा आधारित पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने, लोपोन्मुख वन्यजन्तु तथा वनस्पतीको संरक्षणमा विशेष जोड दिइने जस्ता योजनाहरु अगाडि सारिएको छ । मानव वन्यजन्तु द्धन्द्ध कम गर्ने विशेष कार्यक्रम ल्याइएको छ । चुरे संरक्षण क्षेत्रकालागि १ अर्ब ५५ करोड रुपैया छुट्याइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार