काठमाडौ, जेठ १४ (हाकाहाकी)– प्रारम्भिक मनसुनका कारण आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको संभावना छ ।
प्रारम्भिक मनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रारम्भिक मनसुन सक्रिय रहने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ । आगामी तीन दिन अपराह्न तथा साँझपख मौसम बदली भई वर्षा हुने बताइएको छ ।
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । राती देशको पूर्वी तथा मध्य भूभागमा केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।