काठमाडौ, जेठ १४ (हाकाहाकी)– नेपालमा बुधबारसम्म १ सय ८३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
देशका विभिन्न स्थानका अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १ सय ४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा सबैन्दा बढी प्रदेश नं २ का ९७ जना छन् ।
यस्तै प्रदेश नं १ का ३०, वागमती प्रदेशका ११, गण्डकी प्रदेशका दुई, प्रदेश नं ५ का ३८ र सुदूरपश्चिम प्रदेशका पाँच जना रहेको प्रवक्ता डा. विकास देवकोटाले बताउनुभएको छ ।
पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा पिसिआर विधिमार्फत तीन हजार ५८० र आरडिटी विधिमार्फट दुई हजार ३२० नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशभर बनाइएको क्वारेन्टिनमा हालसम्म ७० हजार ३०५ जना रहेका छन् । यस्तै विभिन्न अस्पतालको आइसोलेनसमा ६९९ जनाको उपचार भइरहेको छ । र, अहिलेसम्म कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन् ।