Tuesday, November 5, 2024

कोरोना संक्रमितको कुल संख्या ८८६

काठमाडौ, जेठ १४ (हाकाहाकी)– कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । बुधबार मात्र ११४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८८६ पुगेको छ ।

मन्त्रालयमा बुधबार साँझ ४ः१५ बजे आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकाटाले कूल संक्रमितमध्ये ७९६ पुरुष र ९० महिला रहेको जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकामा सप्तरीको बोदेबसाइन नगरपालिकाका आठ, बालनविभूल गाउँपालिकाका दुई र सुरुङ्गा नगरपालिकाका एक जना छन् । यसैगरी झापाको गौरादह नगरपालिकाका दुई, कचनकवल नगरपालिकाका १५ जना छन् ।

मकवानपुर हेटौँडाका एक, रौतहटको गढिमाईका सात, बागलुङ तमानखोलाका चार र बडिगाड गाउँपालिकाका दुई, रुकुमपूर्वको पुथाउत्तरगङ्गाका तीन, दाङको घोराहीका सात र लमही नगरपालिकाका आठ, बाँकेको डुडुवा गाउँपालिकाका दुई, राप्ती सोनारी गाउँपालिकाका सात, वैजनाथ गाउँपालिकाका छ र खजुरा गाउँपालिकाका एक जना छन् ।
यस्तै सिरहाको सिद्धिचरण नगरपालिकाका एक, सिरहा स्थायी ठेगाना भएका तर हाल सप्तरीको रुपनी बस्ने एक, बाराको पर्चौदाका सात, रौतहट स्थायी ठेगाना भई हाल बारामा रहेका एक, रौतहटको गौर नगरपालिकाका आठ, देवाही भोनाहीका दुई, कटहरियाका दुई र रौतहटकै अरु स्थानका १६ जना छन् । सबै पहिचना भएका सङ्क्रमित क्वारेन्टिमै रहेका प्रवक्ता डा. देवकाटाले जानकारी दिनुभयो ।

सबैभन्दा बढी सङ्क्रमित प्रदेश नं ५ का रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा १७ जना सङ्क्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी प्रदेश नं १ मा १०३, प्रदेश नं २ मा ३२४, वाग्मती प्रदेशमा ३९, गण्डकी प्रदेशमा १३ र कर्णाली प्रदेशमा २५ सङ्क्रमित फेला परेका छन् ।

यससँगै कोरोना सङ्क्रमित फेला परेको जिल्ला ४७ पुगेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार