Friday, September 20, 2024

पत्रपत्रिकामा आज: कर्णालीमा खडेरीको कहर, जनप्रतिनिधिकै आडमा नदी दोहन

काठमाडौं–आजका दैनिक पत्रपत्रिकाले कर्णालीको खडेरीले कृषि उत्पादनमा पारेको प्रभावदेखि लिएर मुस्ताङमा बेमौसमी हिमपात सम्मको खबर प्रकाशित गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा मौसमले पार्ने प्रभावका कुरा पनि पत्रपत्रिकाले उठाएका छन्।

नागरिक दैनिकमा ‘मुस्ताङमा बैमौसमी हिमपात’ शीर्षकको समाचार पहिलो पृष्ठमै प्रकाशित भएको छ। ‘मुस्ताङका उच्च क्षेत्र हिउँले ढाकिएका छन्, ४ फिटसम्म हिउँ परेको छ,’ सन्तोष पोखरेल र सुशील थकालीले लेखेको समाचारमा भनिएको छ। यो हिमपातले कृषि क्षेत्रमा खासै अर्थ नराखेपनि त्यहाँ आउने पर्यटक भने खुसी भएका छन् ।

यसैगरी, ‘जनप्रतिनिधिकै आडमा नदी दोहन’ शीर्षकको समाचार पनि नागरिकमै छ। भूकम्पपछिको पुनर्निर्माणलाई सघाउन नदीजन्य पदार्थ उत्खनन् गर्न स्थानीय तहलाई दिइएको अधिकार एकाएक फिर्ता लिइएपछि जनप्रतिनिधि, क्रसर व्यवसायी र बिचौलियाको त्रिपक्षीय मिलेमतोमा नदिमा ब्रम्हलुट मच्चाइएको खबर छ। सिन्धुपाल्चोकबाट ध्रुव दङ्गालले  लेखेको खबरमा एक वर्षबीचमा सुनकोसी र ती नदी हालसम्मकै सर्वाधिक दोहनको सिकार बनेका छन्। यसैगरी धरहरा क्षेत्रको दोहन नहटेको खबर पनि यहि पत्रिकामा प्रकाशित छ।

कान्तिपुर दैनिकमा ‘बढ्ला काठ उत्पादन?’ शीर्षकको खबर प्रकाशित छ। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको श्वेतपत्रमा जनाइए अनुसार विदेशी काठ आयात रोक्न वैज्ञानिक वन व्यवस्थापनमार्फत सरकारी वनबाट मात्र वार्षिक ६० लाख घनफिट काठ उत्पादन गर्ने घोषणा गरिएको छ। बजारको माग पूरा गर्न परम्परागत हिसाबको वन व्यवस्थापनबाट संभव नहुने कुरा अब्दुल्लाह मियाँको सो खबरमा उल्लेख छ।

यसैगरी दैलेखमा विद्युतगृह भएकै नौमूले गाउँ अँध्यारो भएको र अरुण तेस्रोको शिलान्यास शुक्रबार हुने खबर पनि कान्तिपुरमै छ। यस्तै दोलखामा कुकुरले ल्याएको समस्या सम्बन्धि खबर प्रकाशित छ।

‘कर्णालीमा खडेरीको कहर, नांगा खेत हेर्दै चाउचाउ सुप’ शीर्षकको खबर राजधानी दैनिकमा छ। भटमास, गहत, मसुरो र मास प्रशस्त फल्ने बाजुराको बुढिगंगा र त्रिवेणी नगरपालिकामा खडेरी लागेर उत्पादन कम हुदै गएको छ।

‘मोदी आउँदा हिमपात र वर्षा’ शीर्षकको राससको खबर राजधानीले छापेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार र शनिबार नेपाल बसाइँका क्रममा जल तथा मौसम विज्ञान विभागले मौसमी पुर्वानुमान सार्वजनिक गरेको छ। जस अनुसार आज र भोलि पानी पर्ने र हिमपातसम्म हुने अनुमान विभागको छ।

यसैगरी यार्सा संकलनका पाटनहरु सुनसान बन्दै गएको खबर राजधानीमा दार्चुलाबाट नरेन्द्र कार्कीले लेखेका छन्। ‘हिमपातपछि घर फर्किदै यार्सागुम्बा संकलक’ शीर्षकको समाचार नयाँ पत्रिकामा पनि प्रकाशित छ। यता वर्षा याम सुरु नहुँदै बाढीपहिरो जान थालेको अर्को खबर राजधानीमा छ।

अन्नपूर्ण पोस्ट्मा जारको पानी सुरक्षित नभएको खबर प्रकाशित छ। केही दिनदेखि पानीको शुद्धताका विषयमा सो पत्रिकाले समाचार लेख्दै आएको छ।

मुस्ताङमा माइनस डिग्री तापक्रम मोदिको स्वागत गर्न लागिएको खबर पनि अन्नपूर्णमै छ। यस्तै वन प्राविधिकको विशेषज्ञता तोकिँदै शीर्षकको समाचार छेटु शेर्पाले लेखेका छन्। यस्तै जोखीमपूर्ण घर सार्न सिफारिस गरिएको खबर पनि यही पत्रिकामा छ। यसैगरी अन्नपूर्ण पोष्टले कोसी प्रभावितको मागलाई उठाएर पनि खबर तयार पारेको छ।

कारोबार दैनिकमा जुम्लाबाट शौचायको समस्या भएको खबर प्रकाशित छ। ‘चन्दननाथ नगरपालिकाका ६० घर एउटै शौचालयको भरमा रहेका छन्’ सागर परियारले लेखेको समाचारमा जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार