Tuesday, November 5, 2024

आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने सरकारी अनुमान

काठमाडौ, जेठ १३ (हाकाहाकी)– सरकारले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत कायम हुने प्रारम्भिक अनुमान गरेको छ।

अर्थ मन्त्रालयले तयार गरेको आर्थिक सर्वेक्षणमा विश्व बैंक तथा केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको प्रक्षेपणभन्दा बढी वृद्धिदर हासिल हुने देखिएको हो।

केन्द्रीय तथ्याङ्क विभागले २ दशमलव २७ प्रतिशत कायम रहने बताएको थियो। त्यस्तै विश्व बैंकले २ प्रतिशतभन्दा कम हुने बताएको थियो । सरकारले यस वर्षको बजेटमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो।

तर चैतपछि कोरोना नियन्त्रणको लागि लकडाउन गरिएपछि अर्थतन्त्रमा असर परेको र यसले आर्थिक वृद्धिदरमा गम्भीर असर पारेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ । उहाँले यस अघिको तीन वर्षमा आर्थिक वृद्धिदर औसत ७ प्रतिशतभन्दा माथि रहेको समेत बताउनुभयो ।

चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा गत वर्षको तुलनामा ७ दशमलव ५ प्रतिशतले बढेर १ लाख २६ हजार १८ रुपैयाँ अर्थात् अमेरिकी डलरमा १ हजार ८५ पुग्ने अनुमान पनि सरकारले गरेको छ।

कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि चालिएको कदमबाट सार्वजनिक एवं निजी क्षेत्रमा आएको संकुचनले कुल लगानी गत आर्थिक वर्षको तुलनामा ३ दशमलव ४ प्रतिशतले न्यून भई १८ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०७४/०७५ मा १८ दशमलव ७ प्रतिशत रहेको निरपेक्ष गरिबीमुनिको जनसंख्या २०७६/०७७ मा करिब १६ दशमलव ६७ प्रतिशत रहने अनुमान गरिएको छ ।

मुद्रास्फीति, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन लगानी र वित्तीय परिसूचकहरु आर्थिक स्थायित्व अनुकूल भएका छन् भने निकासीमा भएको वृद्धि र पैठारीमा भएको कमीका कारण व्यापारघाटामा सुधार भई शोधनान्तर स्थिति बचतमा रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार