काठमाडौ, जेठ १३ (हाकाहाकी)– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न जिल्लाहरूमा अहिलेसम्मकै धेरै संख्यामा मानिस क्वारेन्टाइनमा राखिएको जानकारी दिएको छ ।
पछिल्ला केहीदिन यता सीमा–नाकासम्म आएका नेपालीहरूलाई सुरक्षित रूपले घर पठाउन थालिएपछि क्वारेन्टाइनमा बस्नेको संख्या बढेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज देशैभरका क्वारेन्टाइनमा ५५ हजार २८२ जना मानिस रहेको बताउनुभयो ।
प्रदेश १ मा एक हजार ७५८, प्रदेश २ मा १० हजार ५३५, बाग्मतीमा ९६४, गण्डकीमा एक हजार ५१३, प्रदेश नम्बर ५ मा २३ हजार ५८९, कर्णाली प्रदेशमा ५ हजार २६६ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ६५७ जना मानिस क्वारेन्टाइनमा छन् । हालसम्म ४६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
मन्त्रालयका अनुसार देशैभर पीसीआर विधिबाट ५४ हजार ४२४ नमूना परीक्षण भएका छन् भने आरडीटी किट विधिबाट ९७ हजार ९६७ नमूना परीक्षण गरिएका छन् । दुवै विधिबाट एक लाख ५२ हजार ३९१ नमूना परीक्षण गरिएका छन्।