काठमाडौ, जेठ १३ (हाकाहाकी)– एकैदिन ९० जनामा कोराना भाइरसको संक्रमण देखिएको छ । चौबिस घण्टामा पुष्टि भएको यो संख्या अहिलेसम्म कै धेरै हो ।
निको भएर घर फर्किनेको संख्या १५५ छ । र, चार जनाको कोरोनाबाट मृत्यु भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, पोखराको प्रयोगशालामा २, सुर्खेत प्रादेशिक अस्पतालमा १२ , नेपालगन्जमा ७, दाङमा गरिएको परिक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षण महोत्तरीका २ जना, जुम्ला स्थायी ठेगाना भइ बारामा कार्यरत २ जना, बाराकै ३ जना, रौतहटका २१, सिरहाका ५ जनामा संक्रमण पोजटिभ देखिएको छ ।
जनकपुर अस्पतालमा उपचाररत धुनुषाका एक पुरुषको पनि पोजेटिभ रिपोर्ट आएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भने बाँकेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा २ वर्षीय बालिका पनि छन ्। रुपन्देहीको प्रादेशिक अस्पतालमा कपिलवस्तुकै ७ जनामा संक्रमण देखिएको छ ।
यस्तै अर्घाखाँचीका २, गुल्मीका २ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका १ र अछामका १ जनामा संक्रमण पोजेटिभ देखिएको हो । पोखरामा भएको परीक्षणमा स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको छ ।
सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ । ती मध्ये ४ जनाको मृत्यु भइसकेको छ भने १५५ जना कोरोनामुक्त भएर घर फर्किएका छन ।