काठमाडौ, जेठ १२ (हाकाहाकी)– विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटलमा क्वारेन्टाइन गर्दा एक जनाको न्यूनमत दैनिक ३ हजार लाग्ने भएको छ ।
यसको साथै व्यवसायीका केही शर्त पनि छन् । सरकारले विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारका लागि गृहकार्य गरिरहेको छ ।
यसरी उद्धार गरेकाहरुलाई केही दिन काठमाडौंको होटलहरुमा क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर मात्र सम्बन्धित स्थानीय तहमा पठाइने जनाइएको छ । विदेशबाट उद्धार गरिएकाहरुसँगै कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी लगायतलाई राख्न होटल दिन सकिने होटल संघ नेपाल (हान)ले बताएको छ ।
हानले पर्यटन विभागका महानिर्देशकसामू केही शर्त सहितका योजना बुझाएको छ । होटलमा राख्नुपूर्व स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको यकीन हुने प्रमाणपत्र चाहिने व्यवसायीको पहिलो शर्त छ ।
त्यस्तै होटल सञ्चालनका लागि कानुनी अनिवार्य शर्तका रुपमा तोकिएको अन्तर्रा्ष्ट्रिय स्तरका मापदण्डमा कुनै क्षति नहुने ग्यारेन्टी गर्नुपर्ने र कर्मचारी तथा छिमेकमा रहेका स्थानीय समुदायलाई कोरोना संक्रमणबाट बचाउन स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल सञ्चालन हुनुपर्ने होटल संघ नेपालले विभागमा बुझाइएको प्रस्तावमा उल्लेख छ ।
हानले क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने छाक पौष्टिक खाना र आवश्यक पर्ने सबै खाले आधारभूत सेवासुविधाका लागि पर्ने रकम पनि प्रस्ताव गरेको छ । हानले न्यूनतम ३ हजार रुपैयाँदेखि अधिकतम १६ हजार रुपैयाँसम्ममा कोठा दिन सकिने बताएको छ ।
होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार प्रतिव्यक्ति दैनिक लागत पर्यटकीय स्तरका होटेलमा न्यूनतम ३ हजार र पाँचतारे होटेलका लागि १६ हजार लाग्ने अनुमान गरिएको छ । यसमा दैनिक ४ छाक खाना, खाजासमेत पर्नेछ ।