काठमाडौ, जेठ १२ (हाकाहाकी)– जापानले कोरोना भाइरसको प्रकोपबीच देशमा लागू गरेको संकटकाल सोमबार मध्यरातदेखि हटाउने भएको छ ।
प्रधानमन्त्री सिन्जो आबेले आज संकटकाल हट्ने घोषणा गर्नुभएको द मेनिचि समाचार संस्थाले जनाएको छ । कोरोनाको प्रभाव बढ्दै गएपछि जापानका अधिकाँश क्षेत्रमा अप्रिल ७ बाट संकटकाल लागू गरिएको थियो ।
तर अत्यावश्यक क्षेत्रलाई भने खुला गरिएको थियो । अहिलेसम्म जापानमा १६ हजार ५०० भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये ८०० भन्दा बढीको मृत्यु हुँदा १३ हजार ४०० भन्दा बढी उपचारपछि स्वस्थ बनेका छन् । पछिल्लो समय कोरोनाको प्रभाव कम हुँदै गएको जापानले आज मध्यरातदेखि संकटकाल हटाउन लागेको समाचारमा जनाइएको छ ।