काठमाडौ, जेठ १२ (हाकाहाकी)– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताउनुभएको छ । राष्ट्रका नाममा सोमबार सम्बोधन गर्ने क्रममा उक्त कुरा बताउनुभएको हो ।
उहाँले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताउनुभयो ।
समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै, विदेशमा अप्ठ्यारोमा परेका आफ्ना देशवासीहरूलाई समयमै उद्धार गर्ने काम छिटै गरिने उहाँले बताउनुभएको छ ।
छिमेकी मित्रराष्ट्र भारतबाट घर फर्किनेहरूलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा त्यसो नभएका कारण समुदाय स्तरमा महामारी फैलिएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
उहाँले बिदेशमा रोजगारी गुमेका र स्वदेशमा रोजगार नभएकालाई रोजगारीको व्यवस्था गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको दोहोराउनुभएको छ ।
उहाँले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो । महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको हो ।
क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि उहाँको भनाइ छ । सरकार नागरिकप्रति संवेदनशील रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । उहाँले देशको कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने बताउनुभएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको कूल जनसंख्या २ करोड ९९ लाख ६६ हजार २ सय ४० रहेको छ । त्यस अनुसार ६ लाखको परीक्षण गर्नुपर्ने हुन्छ ।
यसैगरी प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारीको जोखिम न्यून गर्दै आवश्यक आर्थिक क्रियाकलाप नियमित सञ्चालन गर्न लागेको बताएका छन् ।
प्रधानमन्त्रीले लकडाउनकै अवधिमा समेत केही आयोजनाको कामले तिब्रता पाएको भन्दै यसबाट कोरोनालाई छल्दै विकासका काम अगाडि बढाउन सकिन्छ भन्ने पुष्टी भएको उल्लेख गर्नुभयो ।
सरकारले कोरोना महामारी रोकथामका लागि दुई महिनादेखि लकडाउन जारी राखेको छ । तर यसले आर्थिक गतिविधि ठप्पप्राय भएपछि मुलुकको अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ ।
त्यसैले लकडाउनकै बीच पनि आर्थिक गतिविधि बढाउने सरकारको तयारी छ । उहाँले कृषि क्षेत्रले गरिबी र बेरोजगारी समाधान गर्न सकिने समेत बताउनुभयो ।
प्रधानमन्त्रीका अनुसार अब थप उद्योगहरु संचालनको अनुमति दिने तयारी भइरहेको छ । श्रमिकलाई समुदायमा मिसिन नदिने शर्तसहित उद्योगहरु खुला गर्ने तयारी सरकारले गरेको हो । सुरक्षा प्रवन्ध भए नभएको अनुगमन भने सरकारी निकायले गर्नेछ ।
आन्तरिक उत्पादन वृद्धिका लागि कच्चा पदार्थको उत्पादनदेखि वस्तुको बजारसम्मको श्रृङ्खलासमेत अवरुद्ध हुन नदिने उनको प्रतिवद्धता रहेको छ । प्रधानमन्त्रीले लकडाउनकै अवधिमा रानीपोखरी, धरहरा, मेलम्ची, काठमाडौं, पोखरा र भैरहवा विमानस्थलको काम अगाडि बढेको उल्लेख गर्नुभयो।