काठमाडौ, जेठ ११ (हाकाहाकी)– कोरोना भाइरस (कोभिड(१९) संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये एकको मृत्यु भएको छ ।
तर पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेका छन् । ‘विरामीमा यहाँ (नेपालगञ्ज) ल्याउने लगायतका सन्दर्भमा समुदायको पर्याप्त साथ सहयोग नभएपछि निषेधित क्षेत्र घोषणा घोषणा गर्नु परेको हो’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले हिजो मात्र सेना परिचालन गर्न माग गरेको थियो ।