Wednesday, November 6, 2024

कोरोना नभएकालाई मात्र प्रवेश गराउन कर्णाली प्रदेशको केन्द्रसँग आग्रह

काठमाडौ, जेठ १० (हाकाहाकी)– कर्णाली प्रदेश सरकारले भारतबाट आउने नेपालीमा कोरोना भाइरस (कोभिड(१९) नभएको यकिन गरेर मात्रै प्रदेशमा प्रवेश गराउने व्यवस्था गरिदिन केन्द्र सरकारसँग माग गरेको छ ।

भारतमा मजदुरी गरिरेका कर्णालीवासीहरू हरेक दिन सयौंको संख्यामा भित्रिन थालेपछि प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले नाकामै परीक्षण गर्ने व्यवस्था मिलाइदिन केन्द्र सरकारसँग माग गरेको हो ।

बैठकले भारतबाट आएका नागरिकहरू विनापरीक्षण प्रदेशमा प्रवेश गरे प्रदेशको नाकामै आवश्यक परीक्षण गर्ने, मनोसामाजिक परामर्श दिने र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखेपछि पीसीआर जाँच गर्ने निर्णय गर्ने पनि गरेको छ ।

प्रदेशमा प्रवेश गर्ने भारतबाट आएकाहरु र नेपालकै जोखिमयुक्त क्षेत्रबाट आएकाहरुके विवरण अध्यावधिक गर्ने, क्वारेन्टाइनहरुको सुधार गर्ने र पालिकामा एकीकृत क्वारेन्टाइन निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै, बैठकले कोरोना संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाकै आइसोलेसनमा राख्ने र रिफरल केसमात्र विशिष्टिकृत अस्पतालमा पठाउने निर्णय गरेको छ । यसअघि कर्णालीका पहिलो संक्रमितलाई कहाँ राख्ने भन्ने विषयमा विवाद भएपछि बैठकले यस्तो निर्णय गरेको हो ।

हालसम्म कर्णालीमा सुर्खेतका तीन र दैलेखका एक गरी पाँच जनामा कोरोना पुष्टि भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार