काठमाडौ, जेठ १० (हाकाहाकी)– एक सातादेखि बन्द रहेको पशुपति आर्यघाटको विद्युतीय शवदाह गृह भोलिदेखि सञ्चालनमा आउने भएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमसँगै गएको जेठ ४ गतेदेखि बन्द रहेको शवदाह गृह भोलिदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
नेपालमा पहिलोपटक काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी कोरोना संक्रमितको गएको शनिबार पशुपति क्षेत्रमा रहेको शवदाह गृहमा अन्त्येष्टि गरिएको थियो ।
त्यससँगै स्यानिटाइज गर्नको लागि भनेर शवदाहगृह बन्द गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भोलिदेखि विद्युतीय शवदाहगृह सञ्चालनमा आउने जानकारी दिनुभयो ।
शवदाह गृहसँगै बन्द भएको पशुपतिको किरियापुत्री भवनका पाँचवटा कोठा सञ्चालनबारे भने निर्णय भइनसकेको निर्देशक डा. खतिवडाले बताउनुभएको छ ।
दिल्लीबाट आएका केही किरियापुत्रीहरू कोभिडको परीक्षण नगरी किरियापुत्री भवनमा आएर बसेकोले शंकास्पद पाँचवटा कोठा स्यानिटाइज गर्नको लागि बन्द गरिएको उहाँले बताउनुभयो ।
निर्देशक डा. खतिवडाले अरू कारणले नभई तिनै शंकास्पद व्यक्ति बसेका कारणले ती कोठा बन्द गरिएको र अब स्यानिटाइज गरेपछि ती कोठासमेत सञ्चालनमा ल्याइने बताउनुभएको छ ।