काठमाडौ, जेठ १० (हाकाहाकी)– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै संक्रमितको कुल ५८४ पुगेको छ ।
आइतबार साँझ सवा ४ बजेसम्मको तथ्याङ अनुसार थपिएका संक्रमितहरू बाँकेका २७ जना, बैतडीका ४ जना, बर्दियाका १ जना झापाका १ जना, काठमाडौ १, कपिलवस्तु ८, सर्लाही १३, बारा १, रुपन्देही ८, सुर्खेत ३ र १ जना चितवनका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो । नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो । यस्तै, नरैनापुर कै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।
यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । आरडिटी परीक्षण पोजेटिभ आएपछि उनीहरु सेती अस्पतालमा उपचाररत थिए । २० वर्षका २ जना, २२ र २७ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।
यसैगरी, कोसी अस्पतालमा उपचाररत झापा गाउँपालिका झापाका ३३ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । प्रवक्ता डा. देवकोटाले सुर्खेतमा २ पुरुष र १ महिला गरी ३ जना र बर्दियामा १९ वर्षिय पुरुषमा संक्रणम देखिएको बताउनुभयो । करिब ५५ हजार परीक्षणमाआजसम्म पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ जनाको नमुना परीक्षण भएको छ।
अहिले प्रदेश नम्बर १ मा १ हजार ४ सय ६१, प्रदेश नम्बर २ मा ६ हजार ९ सय १०, बागमती प्रदेशमा ५ सय ३५ र गण्डकी प्रदेशमा ७ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन् ।
यसैगरी प्रदेश नम्बर ५ मा १७ हजार १ सय ३०, कर्णाली प्रदेशमा १ हजार ६ सय ७० र सुदूरपश्चिममा ४ हजार १ सय २ गरी देशभरी ३२ हजार ५ सय ८७ जना क्वारेन्टाइनमा रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण तीनजनाको मृत्यु भइसकेकेको छ भने ७९ जना स्वस्थ भएर घर फर्किएका छन ्। यसैबीच पर्सा वीरगन्जस्थित नारायणी अस्पतालबाट आज ९ जना कोरोना संक्रमित कोरोना जितेर डिस्चार्ज हुँदै छन् । नारायणी र गण्डक अस्पतालमा उपचाररत ९६ जना संक्रमितमध्ये आज ९ जना डिस्चार्ज हुन लागेका हुन ।
डिस्चार्जका लागि कागजी प्रक्रिया मिलाउन लागिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताउनुभयो ।
डिस्चार्ज हुनेमध्ये पर्साका ३, रौतहटका ३, बाराका २ र एक भारतीय नागरिक गरी ९ जना पुरुष छन् । नारायणी अस्पतालमा ७१ र गण्डक अस्पतालमा २५ गरी ९६ जना संक्रमित उपचार गराइरहेका छन् । डिस्चार्ज हुनेहरु सबै नारायणी अस्पतालमा उपचार गराइरहेका हुन्।