काठमाडौ, जेठ ७ (हाकाहाकी)– बन्दाबन्दी शुरु भएपछिको ५६ औैँ दिनसम्म झण्डै तीन अर्ब रुपैया बराबरको तयारी औषधि आयात भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हिजोसम्म दुई अर्ब ७१ करोड ६ लाख ६७ हजार बराबरको तयारी औषधि र ६१ करोड ४९ लाख ९५ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।
मन्त्रालयको तथ्यांकानुसार एक लाख ८३ हजार ९२३ मेट्रिक टन खाद्यान्न, ५१ हजार ८३२ मेट्रिक टन दलहन, ६९ हजार २५५ मेट्रिक टन तरकारी, २५ हजार ९८१ मेट्रिक टन फलफूल र १२ हजार ५७ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।
बन्दाबन्दीपछि खाद्य पदार्थ आयातमा वृद्धि भएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो हप्ताको तुलनामा आठौँ हप्तामा खाद्यान्न आयातमा ८२ दशमलव ६ प्रतिशत तथा दलहन र गेडागुडी आयातमा १२१ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ९ दशमलव ६ र ३०५ प्रतिशतले वृद्धि भएको छ । रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट सामान आयात भइरहेको मन्त्रालयले जनाएको छ ।
बीमा कम्पनीका ऋणीले ब्याजमा १५ प्रतिशत छुट पाउने
काठमाडौ, जेठ ७ (हाकाहाकी)– बीमा कम्पनीहरुबाट ऋण लिएका ऋणीहरुले ब्याजको १५ प्रतिशत छुट पाउने भएका छन् ।
बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले आज एक निर्देशन जारी गर्दै ऋणीलाई ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको हो ।
बैंक तथा वित्तीइ संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ब्याजदर नै २ प्रतिशत छुट दिन भनेको छ भने चैतमा तिर्ने ऋणको किस्ता तथा ब्याज असार मसान्तमा तिरे पनि हुने व्यवस्था गरेको छ ।
बैंकमा चैतमा तिर्नु पर्ने ऋण चैतमै तिरेको अवस्थामा भने १० प्रतिशत छुट हुनेछ । बीमा समितिले भने लकडाउन सकिएको एक महिनाभित्रमा ऋण तिर्दा ब्याजको १५ प्रतिशत छुट दिने भएको हो ।
यो तत्कालै कार्यान्यनमा जाने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताउनुभयो । बीमा लेख धितोमा राखी बीमा कम्पनीहरुले बिमितहरुलाई ऋण दिने गरेका छन् ।