काठमाडौ, जेठ ७ (हाकाहाकी)– प्रधानमन्त्री केपीशर्मा ओलीले कोभिड–१९ का कारण तत्काल स्वदेश फर्कन चाहने नागरिकको संख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिनुभएको छ ।
छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)बाट कोरोना नियन्त्रणका लागि हालसम्म भइरहेको एकीकृत प्रयासबारे जानकारी लिएपछि उहाँले कोरोना परीक्षणको दायरासमेत बढाउन निर्देशन दिनुभएको हो ।
एकीकृतरुपमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सूचना प्राप्त गर्न र जोखिम नियन्त्रणका प्रयासमा आवश्यक कदम चाल्न सहज तुल्याउने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।
ठीक समयमा लकडाउन भएको र नागरिकबाट त्यसको पालनामा सहयोग प्राप्त भएकाले कोरोना नियन्त्रणमा हालसम्मको प्रगति सन्तोषजनक रहेको समीक्षा गरिएको थियो ।
कोभिड १९ सङ्क्रमणको स्थिति, आउने दिनमा चाल्नुपर्ने कदम, हालसम्म प्राप्त सूचनाका बारेमा प्रधानमन्त्रीले विस्तृत जानकारी लिनुभएको केन्द्रका संयोजक महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।
लकडाउन हटेलगत्तै बाहिरबाट आउने सङ्ख्या ठूलो हुनसक्ने र त्यसको व्यवस्थापनका लागि आवश्यक साधन स्रंोतको व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाँले बताउनुभयो ।