काठमाडौ, जेठ ६ (हाकाहाकी)– अमेरिकामा मान्छेमा गरिएको पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप परीक्षण सफल भएको छ । तर, यो खोप थप परीक्षणपछि बजारमा आउन आगामी वर्षको जनवरी अर्थात् पुस र माघसम्म कुर्नुपर्ने भएको छ ।
यो खोप नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको हो । मोडेर्नाले खोपसम्बन्धी दिएको जानकारीअनुसार एमआरएनए–१२७३ खोप परीक्षण गरिएका स्वयंसेवकहरुमा आशा गरिएभन्दा बढी रोग प्रतिरोधी क्षमता बढेको पाइएको छ । शरीरमा यसका नकारात्मक असर पनि कम मात्र देखिएको छ।
कम्पनीका अनुसार खोप लगाइएकाहरुमा रोग प्रतिरोधी क्षमता कोरोना भाइरससँग लड्ने क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ।
कम्पनीका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले थप परीक्षणपछि मात्र खोप बजारमा आउनसक्ने बताउनुभएको छ । पहिलो चरणको परीक्षण सफल भएको भन्दै उहाँले आउने परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने बताउनुभएको छ ।